काठमाडौं, जेठ ३१

काठमाडौं युरेका लियो क्लब र लियो क्लब अफ काठमाडौं सारुबीको संयुक्त बार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रम भोलि सेन्ट्रल कलेज, सिनामंगलमा गर्ने सहमति भएको छ ।

सामजिक सेवामा अग्रसर दुई प्रभावशाली लियो क्लबहरू — लियो क्लब अफ काठमाडौं युरेका र लियो क्लब अफ काठमाडौं सारुवि बीच आज संयुक्त बैठक सम्पन्न भएको छ।

बैठकमा दुई क्लबबीचको सहकार्यलाई सुदृढ गर्दै संयुक्तरूपमा बार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोह गर्ने निर्णय गरिएको हो।

उक्त बैठकमा दुबै क्लबका वर्तमान अध्यक्ष, आगामी नेतृत्व, सचिव, कोषाध्यक्ष, सदस्य तथा विशेष आमन्त्रित प्रतिनिधिहरूको उपस्थिति थियो। सहकार्यको भावना अनुरूप, दुबै क्लबले आफ्नो विगत वर्षको समीक्षा, आगामी वर्षको योजनाहरु, सदस्यहरुको योगदानको कदर र युवाहरूलाई प्रेरणा दिन सक्ने कार्यक्रम संयुक्तरूपमा आयोजना गर्नुपर्नेमा एकमत भएका थिए।

कार्यक्रम जेठ ३१ गते शनिबार, काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजको सभाहलमा बिहान ११ बजेबाट सुरु हुनेछ। कार्यक्रममा निम्न प्रमुख विषयवस्तुहरू समेटिने छन्:

  • दुबै क्लबको वार्षिक प्रतिवेदन प्रस्तुत – नयाँ कार्यकालका अध्यक्ष तथा पदाधिकारीहरूको जिम्मेवारी हस्तान्तरण
  • उत्कृष्ट सदस्यहरूलाई सम्मान र पुरस्कार वितरण
  • सामाजिक सेवा तथा नेतृत्वमा आधारित आगामी कार्यक्रमहरूको घोषणा
  • दुबै क्लबबीच भविष्यमा हुने सहकार्यका योजना र सम्झौता

कार्यक्रममा लायन्स क्लबका वरिष्ठ पदाधिकारी, अन्य लिओ क्लब का प्रतिनिधी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू र मिडिया व्यक्तित्वहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।

लियो क्लब अफ काठमाडौं युरेकाका वर्तमान अध्यक्ष कुसुम पौडेल का अनुसार, “यो संयुक्त कार्यक्रम हामी युवाहरूको एकताले के कस्तो परिणाम दिन सक्छ भन्ने उत्कृष्ट उदाहरण हुनेछ। यसले हाम्रो नेतृत्व विकास, सेवा भावना र सहकार्यको शक्ति झल्काउनेछ।”

त्यस्तै, लियो क्लब अफ काठमाडौं सारुविका अध्यक्ष महेन्द्र न्यौपाने ले पनि कार्यक्रमलाई आगामी पुस्ताका लागि प्रेरणादायी मोडलको रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।

दुबै क्लबले सामाजिक सञ्जालमार्फत सदस्य, शुभचिन्तक तथा सरोकारवाला सबैलाई कार्यक्रममा सहभागी भई युवा सेवाको यो यात्रालाई थप ऊर्जा दिन आग्रह गरेका छन्।

यस्तो संयुक्त कार्यक्रमले लियो यात्रामा नयाँ उचाइ ल्याउने विश्वास गरिएको छ। युवाहरूलाई नेतृत्व, सामाजिक उत्तरदायित्व र सेवामूलक कार्यमा सक्रिय बनाउने खालका यस्ता सहकार्यले लियो क्लबहरूको प्रभाव र पहुँच अझ व्यापक बनाउने निश्चित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय