दुर्गम ग्रामीण क्षेत्रका बालबालिकालाई प्रविधिमैत्री शैक्षिक वातावरणमा जोड्ने उद्देश्यले लियो काठमाडौं युरेका लियो क्लवले प्यूठानको गौमुखी गाउँपालिका–४ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा डिजिटल सूचना केन्द्र स्थापना गरेको छ।
इन्टरनेट, कम्प्युटर, डिजिटल बोर्ड र ई–स्रोतहरूको अभावमा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि यो केन्द्र गुणस्तरीय सिकाइको एक नवीन माध्यम बन्ने विश्वास गरिएको छ। क्लबकी अध्यक्ष कुसुम पौडेलका अनुसार प्रविधिको पहुँचबाट टाढा रहेका क्षेत्रहरूमा डिजिटल साक्षरताको जग बसाल्ने यो परियोजना क्लबका लागि ऐतिहासिक उपलब्धि हो।
डिजिटल सूचना केन्द्रको उद्घाटन एक विशेष समारोहमार्फत सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडाध्यक्ष धनिराम सुनारले गाउँका बालबालिकालाई प्रविधिको पहुँचमा ल्याउने यो पहल सराहनीय रहेको भन्दै पूर्व विद्यार्थी नारायण सुनार तथा क्लबलाई धन्यवाद ज्ञापन गरे।
विद्यालयका प्रधानाध्यापक बमबहादुर के.सी.ले डिजिटल केन्द्रले विद्यार्थीको सिकाइ क्षमतामा गुणात्मक रूपान्तरण ल्याउने विश्वास व्यक्त गर्दै स्रोतसाधनको अधिकतम प्रयोग गरिने प्रतिबद्धता जनाए।
परियोजनाको प्रेरणा स्रोत समाजसेवी बमबहादुर सुनारलाई क्लबले विशेष धन्यवाद दिएको छ। उहाँको मार्गदर्शनमा यो परियोजना सम्भव भएको क्लबले जनाएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, व्यवस्थापन समिति, स्थानीय अगुवा तथा राजनीतिक प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम—लोकनृत्य, देशभक्तिपरक गीत, नाटक र कविता वाचनले उद्घाटन समारोहलाई अझ आकर्षक बनाएको थियो।
डिजिटल सूचना केन्द्रमा कम्प्युटर सेट, इन्टरनेट सुविधा, प्रोजेक्टर, डिजिटल कन्टेन्ट तथा अनलाइन स्रोतसहितको सुविधाजनक वातावरण तयार गरिएको छ। अब विद्यार्थीहरूले डिजिटल प्लेटफर्महरू प्रयोग गर्दै विश्वसनीय स्रोतबाट अध्ययन गर्न सक्नेछन्। यो केन्द्र शिक्षकहरूका लागि पनि शिक्षण पद्धतिमा नवीन प्रयोग गर्न उपयोगी हुने अपेक्षा गरिएको छ।
काठमाडौं युरेका लियो क्लवका पदाधिकारीहरू—अध्यक्ष कुसुम पौडेल, प्रथम उपाध्यक्ष निर्मल राज शाही, सचिव अनिसा कार्की, सहसचिवहरू नारायण सुनार र दिबस धिताल—ले क्लबको सेवा भावना, नेतृत्व विकास तथा शिक्षा सशक्तिकरणप्रतिको प्रतिबद्धता कार्यक्रममा व्यक्त गरेका थिए।
श्री महेन्द्र माविमा स्थापित यो डिजिटल सूचना केन्द्र केवल कम्प्युटरको सेट नभई भविष्य निर्माणको एक पुल हो—जहाँबाट गाउँका बालबालिकाले डिजिटल युगसँग आफ्नो सपना जोड्न सक्नेछन्। काठमाडौं युरेका लियो क्लवको यो अभियान केवल परियोजना होइन, शिक्षामा समानताको सन्देश बोकेको एक चेतनाको अभियान हो।